आमाको स्वास्थ्य ख्याल गरौं !

आमा तिमी जन्म दिने मलाई
आमा तिमी प्राण दिने मलाई
आमा तिमी बोट म फूल त्यसको
हो दान तिम्रै जति जे छ मेरो

युगकवि सिद्धिचरण श्रेष्ठले आमा कवितामा गाएको यस महिमाले नै झल्काउ“छ आमाको महिमा कति छ भनेर । यसो त अन्य धेरै साहित्यकारका रचना आमाको महिमाले भरिएका छन् । आमाको महिमाले आफ्ना संग्रह भर्ने रचनाकारहरू पनि एउटै सवालमा सहमत छन्, त्यो हो ‘आमाको महिमा र योगदानलाई गाएर वा तिरेर पारपाइसक्नु छैन ।’

बढ्दो बेरोजगारीसँगै बढेको सामाजिक अपराधले पछिल्लो समय माया र ममताको परिधिलाई खुम्च्याएको टिप्पणी गरिन्छ । पैसा र क्षणिक स्वार्थका लागि जन्म दिने आमाको हत्या गरिएका दुखद् समाचारहरू पनि बेलाबखत सार्वजनिक हुने गरेका छन् । तर, जस्तोसुकै अवस्थामा पनि सन्तानका खातिर असीम प्यार गर्ने आमालाई पुजिने दिन (पर्व) समाजमा प्रचलनमा छ । हो, आज सोही दिन अर्थात् वैशाख कृष्ण औंसी (आमाको मुख हेर्ने दिन) ।

सा“च्चै अपार महिमाकी खानी आमा र सन्तानका लागि आज विशेष दिन, आमवश्य औंसी । विभिन्न कार्य व्यस्तताका कारण आमाबाट टाढा रहेका सन्तानहरू आजकै दिन आमाको सामीप्यमा आइपुग्ने नेपाली परम्परा छ । विवाहित छोरीहरू आजकै दिन आमाको सामीप्यताका लागि माइतीघर धाउने गर्छन् । आमालाई वस्त्र, मिठाईलगायत प्रदान गरिने प्रचलन छ । कतिपयले आजको दिन आमालाई वस्त्र र मिष्ठान्न प्रदान गरी खुसी पार्नसके दूधको भार तिरिने जनविश्वास गर्छन् ।

हेटौंडा–६ की सावित्री चौलागाई आमा र सन्तानका लागि यो पर्व भेटघाटको एउटा अवसर मान्छिन् । वस्त्र र मिष्ठान्न दिएर आमाको भार तिरिनेमा विश्वास गर्दिनन् उनी । ‘लुगा र मिठाई दिँदैमा आमाले हामीलाई दिएको बदला कहाँ पुग्न सक्छ र ?’ उनले भनिन् ।

मानव जीवनमा सबैभन्दा बढी योगदान आमाको रहन्छ । आमाको महत्वलाई प्राचीनकालमा त शिक्षण प्रणालीमै समावेश गरिएको थियो । सो शिक्षण प्रणालीमा ‘मातृवत परदारेषु’ अर्थात् ‘सबै नारी जाति आमा हुन्’ भनेर नारी जातिमाथि श्रद्धाभाव प्रकट गर्न सिकाइन्थ्यो । आमाबाट नैतिकताको पाठ सिकाइने कुरामा अद्यपर्यन्त विश्वास गरिन्छ ।

नीतिशास्त्रले पनि जननी र जन्मभूमि स्वर्गजत्तिकै हुने उल्लेख गरेको छ । पछिल्लो समयमा आमाबाट सिकिएको भाषा (मातृभाषा)ले सरकारी प्रयोजनमा पनि कानुनी मान्यता पाउन थालेको छ । संस्कृतमा आमाको महत्व दर्शाउ“दै भनिएको छ, ‘आपदि मातैव शरणम् अर्थात् आपत् पर्दा आमाको शरण लिइन्छ ।’

आमा शिक्षित भए सिंगो समाज शिक्षित हुने भन्दै सरकारी तवरबाट पनि आमाहरू र नारी शिक्षाका लागि महत्व दिइएको छ । महिला सशक्तीकरणका सवालहरू पनि यसैका उपलब्धि मान्न सकिने हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा बताउँछिन् । ‘आमाहरूलाई सबै क्षेत्रमा सशक्त बनाइनुपर्छ, उहाँसँग जस्तो सुझबुझ र संवेदशीलता अरूमा सम्भव छैन,’ उपमहानगर प्रमुख लामाले भनिन्, ‘समाजलाई सशक्त र सिर्जनशील बनाउन आमाहरूमा लगानी आवश्यक छ ।’ यसैले स्थानीय तहहरूले महिला सशक्तीकरणका लागि ध्यान दिने गरेको प्रमुख लामाले बताइन् ।

नेपाली परम्परामा चल्दै आएका यस्ता परम्पराहरूले महिलाप्रतिको सम्मान र ममतामा थप इँटाको काम गरेको महिला नेत्रीहरू बताउ“छन् । आमा र सन्तानका लागि यो पर्व भेटघाट, मित्रता र दुःखसुख बाँड्ने एउटा कोसेढुंगा साबित भएको छ ।

आजको तिथिलाई मध्यनजर गरेर मात्र आमाको महिमालाई सम्झने र कदर गर्ने गरेर पुग्दैन । आमाको योगदानलाई कदर गर्ने हो भने सधैं आमाप्रतिको मर्यादा पालन गर्नु जरुरी छ । अन्य समयमा आमाको चित्त दुखाउने र आजको दिन आमाको महिमा सम्झने गर्नु व्यर्थ भएको हेटौंडाका साजन वैद्य बताउ“छन् । कुनैकुनै समुदायमा छोरीले मात्र यो पर्व मनाउने प्रचलन भए पनि आमाको योगदान छोराछोरी दुवैमा बराबर हुने भएकाले दुवैले यो पर्व मनाउनुपर्ने वैद्यले बताए ।

स्वास्थ्यको ख्याल
आमालाई मिठाई वा फलफूल खुवाउने तयारीमा हुनुहुन्छ ? विचार पु¥याउनुहोस् । आमाको महिमालाई सम्झना गरेर कदरस्वरूप प्रदान गर्ने ती मिठाईमा अखाद्य पदार्थको मिसावट हुनसक्छ । फलफूललाई वृद्धि र पाक गर्नका लागि विषादी प्रयोग गरिएको हुनसक्छ । मिठाईहरूमा स्वस्थकर रङ र कलेवरहरू राखिएको हुनसक्छ ।

तपाईंले नै खुवाएको खाद्यान्नका कारण असर पुग्यो भने तपाईंको भेटघाट र उल्लास पीडामा परिणत हुन के बेर ? आर्थिक मन्दी र कालोबजारीको चरम सीमामा पुगेको बजारमा खाद्य मिठाई स्वस्थकर पाउन कठिन भएको छ । त्यसैले स्वस्थकर खाना र मौसमी फलफूलहरूको मात्रै प्रयोग गर्न स्वस्थ्यकर्मीहरूको सुझाव छ ।

The post आमाको स्वास्थ्य ख्याल गरौं ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95642/